बिकेनन पहिले हेलिकप्टर चार्टर गरेर लगिने पुर्वका जडीबुटी, किसान र ब्यापारीलाई तनाव

  • १९ आश्विन २०७६, आईतवार

निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजारको समस्याले निराश छन् ।

पाखो जमिन र घुर्‍यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती बजार नपाएपछि खस्किँदै गएको छ । चिराइतो, लोठसल्ला, सतुवा, चिराइतो मात्रै नभएर कुट्की, मजिठोजस्ता जडीबुटीकोर लगायतको बजार खस्केको हो ।
यस क्षेत्रमा कार्यरत उच्च पहाडी संस्था, दीपज्योति युवा क्लब लगायतले व्यावसायिक जडीबुटी खेतीका लागि कृषकलाई सहयोग गर्दै आएका छन् । अहिले बजार नपाएपछि कृषक पुनस् खेतीको विकल्प खोज्न बाध्य छन् ।

जडीबुटीको कारोबार गर्दै आएका सिदिङवा गाउँपालिकाका सबिन बानियाँ हरेक जडीबुटीको बजार मूल्य घटेको बताउँछन् । कुट्की सबैभन्दा बढी १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । अहिले कुट्की संकलकले १२ सय रुपैयाँ मूल्य तोकेका छन् । माग नभएकाले बिक्री  छैन । ‘भारत र चीनका व्यापारीसँग सोधिरहेका छौं,’ सबिनले भने, ‘नल्याउनुहोस्, यहाँ माग छैन भनेर उनीहरू जवाफ दिन्छन ।’

खपत हुने कम्पनीमा डिमान्ड नभएकाले लान नसकिने भारत र चीनका व्यापारीले बताउने गरेको सबिनको भनाइ छ । अरूले छाडेपछि सबिन केही व्यक्तिसँगको सहकार्यमा जडीबुटीको कारोबार गर्दै आएका थिए । १५० रुपैयाँले कारोबार भएको मजिठो गत वर्ष ६५ रुपैयाँले किसानसँग कारोबार भए पनि यो वर्ष त्यो पनि ठप्प भएको व्यापारीले बताए ।

बाहिरबाट माग नआएकाले यो वर्ष स्थानीय व्यापारीले कुनै पनि जडीबुटीको मूल्य सार्वजनिक गरेका छैनन् । न त आफूले किनेर राख्ने जोखिम नै मोल्ने मनस्थितिमा छन् । पहिला व्यापारीहरू गोदाम गर्ने र बाहिरका व्यापारीसँग मोलमोलाइ गरेर बढीमा बिक्री गर्थे । अन्तर्राष्ट्रिय बजार भएकाले केमा प्रयोग हुन्थ्यो र भविष्य के छ भनेर जानकार कोही पनि छैनन् । ‘अझ चीनमा निर्यात हुने वस्तुको त कुनै सुँइकोसम्म पनि पाइँदैन,’ सबिनले भने, ‘भाषा नजानेपछि प्रयोगबारे सामान्य जानकारी पनि हासिल गर्न सकिएन ।’

अधिकांश जडीबुटी पहिला भारत र पछि चीन जान थालेको हो । लैजानेले भने औषधिका लागि प्रयोग गर्ने बताउने गरेका छन् । नेपालबाट चिराइतो, मजिठो, सतुवा, कुट्की, बिख्माजस्ता जडीबुटी चीन जाने गरेको थियो । नेपालका व्यापारीले हेलिकप्टर चार्टर गरेर पनि जडीबुटी पठाएका थिए ।

संखुवासभाबाट हेलिकप्टरमा चीन लगिएको थियो । ताप्लेजुङ, पाँचथर, इलाम, तेहृथुमको चिराइतो संखुवासभाको थुदामबाट तिब्बतको रिउ पुर्‍याइएको थियो । पैदलमार्ग भएर ताप्लेजुङको ओलाङचुङगोला हुँदै चौंरीलाई बोकाएर पनि लगिएको थियो । यहाँसम्म मान्छेलाई बोकाएर लानुपर्ने भएकाले ढुवानी महँगो र कठिन थियो । पछिल्ला वर्ष क्रमशस् माग घट्दै मूल्यमा पनि गिरावट आएपछि कारोबार नै ठप्प भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका जीवन यादव छुट पुर्जी लिनेको संख्या कम हुँदै गएको बताउँछन् ।

बिकेन चिराइतो पनि 
गत वर्ष ७ हजार रुपैयाँ मनले बिक्री भएको चिराइतोको यो वर्ष अहिलेसम्म मूल्य छैन । फागुन–चैतमा उखेलेर राखेका किसानले बजार पुर्‍याएका छैनन् । न त व्यापारी नै चिराइतो खोज्न गाउँ छिरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप लावाजिनका बुद्धिमान लिम्बु गाई बाँध्ने गुवालीमा राखेको तर बिक्री नभएको बताउँछन् । ‘तेसै रहनुभन्दा नानीहरूलाई कापीकलम, नुन भुटन साट्ने पैसा आउँछ भनेर व्यापारीलाई सोधेको दामै छैन, मैले ल्याएर पनि कहाँ राख्नु नल्याउनुहोस् भनेर थन्क्याइराखेको छु,’ बुद्धिमानले भने । केही वर्षअघिसम्म प्रतिकिलो ६ सय रुपैयाँसम्ममा बिक्री भएको चिराइतो अहिले कृषकको गोदाममै थन्किएको छ । भारतले नकिन्नु र चीनमा पनि पर्याप्त निर्यात हुन सकेको छैन । नेपालमा चिराइतोको प्रशोधन नै नहुने भएकाले पनि बहुउपयोगी चिराइतो मूल्यविहीन बन्न पुगेको हो ।

भारतले नेपालबाट आयात हुने जडीबुटीको सूचीबाट चिराइतोलाई हटाएको छ । जसका कारण मुख्य बजार भारतमा निर्यात ठप्प भएको हो । नेपालबाट निर्यात हुने १७ जडीबुटीको सूचीमा चिराइतो नरहेको वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । इलामबाट मात्र केही वर्षअघि वार्षिक ५ करोड रुपैयाँ हाराहारीमा निकासी हुने जडीबुटी पछिल्लो समय अत्यन्तै न्यून रहेको उच्च पहाडी संस्थाका कृष्ण राईले बताए ।

सन्दकपुर–५ जमुनाका गोपाल गुरुङले करिब ३० रोपनी जमिनमा खेती गरेको चिराइतो यो वर्ष बिक्री नहुँदा घर व्यवहार चलाउन नै अप्ठ्यारो भएको बताए । ‘कहीँकतै सोधीखोजी गर्दा पनि बिक्री गर्न सकिएन,’ उनले भने, ‘चिराइतो राम्रो उत्पादन हुने भएकाले अन्य बाली मासेर लगाएको हुँ ।’  ‘नेपालमै प्रशोधन केन्द्र खोलेर यसको प्रयोग गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ,’ सन्दकपुर गाउँपालिकास्थित सुजमा जडीबुटी सहकारी संस्थाका दिनेश सुवेदीले भने ।

लोठसल्लाको बजार घट्दो
अघिल्लो वर्षसम्म हेटौंडामा बिक्री हुँदै आएको लोठसल्ला यो वर्ष बिक्री हुन्छ कि हुँदैन । किसानहरू चिन्तामा छन् । पहिलो वर्ष सहज रूपमा बिक्री भएको लोठसल्लालाई दोस्रो वर्ष सुधार गर्न कम्पनीले सुझाव दिएको थियो ।

सोहीअनुसार कृषकले सुकाउने विधि नै परिवर्तन गरेर कम्पनीको मागअनुसारको लोठसल्ला पठाए । लोठसल्लामा पाइने ‘ट्याक्सोल’ नामक पदार्थ विभिन्न औषधि बनाउन प्रयोग हुने गरेको जानकारहरूको भनाइ छ ।  ट्याक्सेस वाकोटा जातलाई एक नम्बर मानिन्छ । जुन नेपालमै पाइँदैन । ट्याक्सेस मेरियालाई गुणस्तरको हिसाबले दोस्रो नम्बरमा राखिएको रेडियो ताप्लेजुङमा समाचार छ ।

इलाम जिल्लामा मात्र व्यावसायिक ढंगले लोठसल्ला रोप्ने कृषक ५ सय जति छन् । बर्सेनि उत्पादन र कृषक थपिँदै गएका छन् । तर, बजार अनिश्चितता हुँदा भने मेहनत र लगानी खेर जाने चिन्तामा कृषक रहेको सन्दकपुर गाउँपालिकाका छत्रबहादुर राई बताउँछन्  ।

171 total views, 3 views today