के मैले पनि आत्महत्या नै गर्नुपर्ने हो त ?

  • २७ भाद्र २०७६, शुक्रबार

हर्कमान तामाङ

निकै दिनअघिको कुरा । लोहन्द्रा खोलामा कसैको मलामी गएको थिएँ । एक जना मित्रले नजिक आएर नमस्ते गर्दै भन्नुभयो, ‘होइन, लालभित्तिमा हाम्रा दुई जना निर्वाचित माननीय हुनुहुन्थ्यो । एक जनाले त झुण्डिएर आत्महत्या गर्नुभयो । तपाईं पनि त्यसै गर्नुहुन्छ कि ?’ यस्तो अप्रत्याशित प्रश्नले अलमल्लमा परेँ । एकछिन त के भन्नु न के भन्नु भयो । उनले मनका साँचा कुरा नै बोले भन्ने लाग्यो । गम्भीर भएँ, रिसाइनँ, चित्त पनि दुखेन । तर, मुखमा जवाफ आइहाल्यो, ‘ए हजुर, म त अर्कै धातुले बनेको मानिस पो हँु । त्यसो त कसरी गर्न सक्छु र ? बेलामा संकेत मात्र पाएको भए उहाँलाई पनि बचाउने थिएँ । सिंगो नेपाली समाजको बद्नाम हुन सक्ने दुर्घटना हो यो । बेलामा अलिकति संकेत मात्र पाएको भए यस्तो दुर्घटना अवश्य पनि हुन दिने थिइनँ !’राष्ट्रिय पञ्चायत सदस्य कर्णबहादुर धिमाल अति असहाय, अभावग्रस्त र रोगग्रस्त अवस्थामा हुनुभएको थाहा पाएँ । भेटें र केही मित्रहरूलाई जानकारी गराएँ । छिट्टै आवश्यक सहयोग जुट्यो । आफूसमेत भएर अस्पताल लगियो । खास जटिलता नभएकाले छिट्टै ठीक पनि हुनुभयो । उहाँको नियमित रेखदेख र सहयोगका लागि नातेदार कवीन्द्र धिमालसँग अनुरोध गरेंं । हर्नियाको (होला) एउटा सामान्य अपरेसन बाँकी राखेर घर फिर्नुभयो । खुशी हुनुभएको थियो । दैनिक भेटघाट गर्न र हौसला दिइरहन सकिएन । कहिलेकाहीँ घर पुग्दा ताला झुण्डिरहेको हुन्थ्यो । एक बिहान अचानक आत्महत्याको खबर सुन्दा हुनसम्मको दुःख लाग्यो ।

अब अकम्युनिष्ट

सांसद छँदा आफ्नै पहलमा खोलिएको सहारा बालग्राम बेचिएको हल्ला व्याप्त भएपछि हालै नेकपाको वार्ड कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनको नाममा सम्पन्न गरिएको जनसभामा पार्टीका जिल्ला तहसम्मका ओहदाका विभिन्न वक्ताका भाषण, स्थानीय कमिटीको अध्यक्षको अध्यक्षतामा संघर्ष समिति गठन भएको र त्यसपछिका विविध चर्चा, जुलुस, तुरुन्त पार्टीबाट निष्कासनको कारबाही, मोसो र जुत्ताको माला लगाई बजार घुमाउनेलगायत मागसहित अनेक–अनेक कुरा प्राप्त भयोे ।

यसबेला सबै पत्रपत्रिका, सामाजिक सञ्जाल, रेडियो र धेरै मुखबाट ‘संस्थाको जग्गा बेची खाने ठूलो अपराधी’ को रूपमा चित्रित गर्दै प्रचारित भएको छु । धेरै मित्रहरू छक्क परेका छन् । कोही स्तब्ध छन् । शुभचिन्तकका जिज्ञासाले हैरान बनाएको छ । कमजोर मानसिकता भए यसबेलासम्म कि त आत्महत्या गरिसकेका हुन्थेँ, कि त ठाउँ छाडेर भागिसकेको हुने थिएँ । सम्पूर्ण प्रचार र हल्लाले पागल बन्लान् भन्ने डरले होला छोरोले इन्टरनेटको लाइन पनि कटायो । निरंकुश पञ्चायतले दिएको भन्दा धेरै गुणा ठूलो मानसिक यातना अनुभव भयो ।

पञ्चायती शासनका ती दिन 

त्यस कालको उत्तराद्र्धमा मोरङ बेलबारीको भगवती स्कुलमा लगनशीलतासाथ कार्यरत थिएँ । भौतिक पूर्वाधार थिएन, आयस्रोत थिएन । विद्यालयको अवस्था सुधार्ने हिम्मत साथ मिहिनेतपूर्वक काम गर्ने प्रयत्न थियो । तर, पटक–पटक प्रहरी थानालाई २४ घण्टाभित्र पक्रेर ल्याउन ‘माथि’बाट आदेश आउने गरेको हुन्थ्यो ।

निर्दोष ठहर गरेको रिपोर्ट गर्दा रहेछन् । ‘चौबिसै घण्टा कडा निगरानीमा रहिरहेको व्यक्ति’ हो । शैक्षिकबाहेक अरू कुनै गतिविधि गरेको नदेखिएको । बिहानदेखि बेलुकैसम्म विद्यालयमै र राति पनि घरमा मेरै छोराछोरी समेतलाई ट्युसन पढाउँछ । दिनभरिको कामले भुतुक्क भएर सुत्छ ।

गलत रिपोर्टका आधारमा गरिएको निर्णय पनि गलतै हुन्छ । परिणामले पनि व्यवस्थाको भलो गर्दैन ।’ दुई÷तीन कार्यकालका प्रहरी इन्चार्जहरूले यस्तै–यस्तै आशयको जाहेरी गर्ने गरेको सुन्ने गर्थें । पछिल्लो कालमा भने एक जना इञ्चार्जले रामराजा प्रसादको बमकाण्डमा फसाउन गरेको षड्यन्त्र पनि खुलस्त भयो तर विफल भयो । त्यसपछि पनि कुनै–कुनै विद्यार्थी र शिक्षक समेतलाई थानामा बोलाएर व्यवस्था विरोधी कामका लागि उक्साउने गरेको बयान गराएर पक्राउ गर्ने आधार पनि बनाएको कुरा तिनै विद्यार्थी र शिक्षकबाट थाहा पाइन्थ्यो ।

आरोपहरू नटिक्ने र प्रमाणित हुन नसक्ने, प्रत्युत्पादक हुने ठानेर होला, शासकहरूका कौशल फेरिए । कहिले वर्षदिनसम्म तलब नदिने, कहिले पहाडका विभिन्न विद्यालयमा ५–७ ग्रेडसम्म बढी तलब दिन्छौं, हाम्रो स्कुलमा जाऊँ भनेर फकाउन मान्छे पठाउने, कहिले राजीनामा दिए मात्र एसएलसीका परीक्षार्थीको प्रवेशपत्र दिने भनेर विद्यार्थी र अभिभावकको दबाब सिर्जना गर्ने प्रयास गर्ने । कति गर्दा पनि पार नलागेपछि ०४५ सालमा एक रात सञ्चालक समितिको आकस्मिक बैठक राखेर समिति खारेजीको निर्णय भएको थियो । सदस्यसचिवको हैसियतले मैले नै हाँसीहाँसी आफू र सहकर्मी गुरु बरालउपरको कारबाहीको निर्णय लेखेको थिएँ ।

सिआइडी नै ‘कमरेड’ 

इलाममा पार्टीले बिदाइ गर्दा यो मेरो छाप्रो र सानो सुन्तला बगैंचा पनि पार्टीलाई जिम्मा लगाएर आएको हँु । धेरै वर्षपछि मात्र थाहा भयो, पार्टीको तर्फबाट मेरो सम्पत्ति जिम्मा लिने कमरेड त गुप्तचर विभागको कर्मचारी पो रहेछ !

बेलबारीमा पनि त झण्डैै सुकुम्बासी भएको ! तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले बचाउनुभयो । नत्र कुनै पनि दिन बसेको घर र जग्गा छडिदिनू भन्ने अदालतको आदेश आउने रहेछ ! धन्यवाद कमरेड दीनानाथ शर्मा । धन्यवाद कमरेड भीम आचार्य र कमरेड गोपी आछामी । तपाईंहरूले मलाई उठिबास हुनबाट बचाउनुभयो ।

के बेलबारी आएर बस्नु गल्ती नै थियोे त ? 

तत्कालीन नेकपा (माले)को भित्री व्यवस्थापनबाट म शिक्षकको रूपमा बेलबारी आएको थिएँ । अहिले सम्झना भइरहेछ, बेलबारीमा शिक्षण गर्न थालेको केही दिनमै तत्कालीन पार्टी नेतृत्वबाट बेलबारी छाडेर अन्यत्रै जानुपर्ने निर्देशन पनि आएको थियो । अस्वीकार गरें । त्यसबेला ती भूमिगत नेताले ‘तपाईं बेलबारीमा टिक्न सक्नुहुन्न’ भनेको कुराको पनि खासखास बेला सम्झना हुन्छ र झस्किन्छु ।

धेरै समय बितेको छ । अल्जाइमर्सले बिर्सने क्रमलाई तीव्रता दिन थालेको छ । त्यसैले सम्झन सकेजति र अनुभूत गरेका कुरा यहाँ स्मरण गर्ने प्रयत्न गरेको छु ।

मलामी जाँदाको अवस्थामा ती मित्रले सुइँको पाएरै त्यस्तो अप्रिय प्रश्न गरेको त होइन ? कता–कता मनले भन्छ, यस्तो पनि संयोग हुने रहेछ ! तर, जसो भए पनि पक्कै रमाइलोका लागि हँसिमजाक गरेका भने होइनन् होला । हो, होइन उनै जानून् ।

सुलसुले प्रचारशैली

अचेल माले कालको जस्तै सुलसुले प्रचार शैलीचाहिँ मजाले प्रयोग भइरहेको छ । जिम्मेवार व्यक्तिले भनेका कुरालाई विश्वास किन नगर्ने ? हामीसँग वास्तविकताको गहिराइमा प्रवेश गर्ने न संस्कार छ, न त चासो र फुर्सद नै ! कहिले पनि सहारा नटेकेका कमरेड नन्दराज गिरीलाई समेत मुछेर पटक–पटकका बैठकमा आउने गरेको बयानको श्रव्यदृश्यसमेत प्रस्तुत गरिएको छ । जबकि सहाराको बैठकै भएको छैन ।

झापा संघर्षकाल, कोकेकाल, मालेकाल, एमालेकाल र हाल नेकपा कालमा समेत निरन्तर सक्रिय र सकारात्मक रहनुभएको कमरेड । पद र प्रतिष्ठाको भोक कहिल्यै नजागेको । नेतृत्वलाई खुशी बनाउने चरित्र नभएको । यति लामो अवधिमा व्यक्तिगत लाभका लागि कहिले केही नसोंचेको । व्यक्तिगत फाइदाको खोजी गर्दै कुनै पनि राजनीतिक पसलतिर नदौडेको व्यक्ति नन्दराज ।

त्यसबेलाका ठुल्ठूला नेतासमेत कोही दरबार पसे, कसैले आफ्नै पार्टी खोलेका छन् । कोही चारैतिर दौडिएका छन् । खोज्ने हो भने पार्टीभित्र निरन्तर र सक्रिय रहेका त्यस बेलाका कार्यकर्ता अहिले कति होलान् ? त्याग र तपस्याको कसले कहिले मूल्यांकन गर्ने होला ? यस्ता थुप्रै तथ्य छन्, जसले वर्तमान नेकपाको असली अवस्था के छ र के हो भन्ने प्रमाणित गर्छन् । क्रमशः…

(लेखक प्रतिनिधिसभाका पूर्वसांसद हुन्) – जनआस्था साप्ताहिकबाट

912 total views, 3 views today