अपाङ्ग भएर पनि पुरै परिवारको सहारा बन्दै पदम

  • २५ भाद्र २०७६, बुधबार

केशु विरही, बेलबारी, मोरङ/अपाङ्गता भएका मानिसलाई समाजले अपाङ्ग भनेर हेला गर्ने गर्छ । कती ठाउँमा त उनीहरुलाई परिवारको बोझको रुपमा पनि हेरन्छि । तर बेलबारी नगरपालिका वार्ड नं १ का ५४ वर्षीय पदम श्रेष्ठ भने अपाङ भएर पनि आफ्नो पूरै परिवारका लागि सहारा बन्दै समाजकै एक उदाहरण प्रस्तुत गर्न सफल भएका छन् ।

लामो समयसम्म मोरङको फडानी भन्ने ठाउँमा बसोबास गरेर पछिल्लो समय बेलबारी –३, मोरङमा बसोबास गर्दै आएका श्रेष्ठ विगत १४ वर्षदेखि ह्वीलचेयरको सहारामा जीवन जिएर पनि आफूले सिकेको सीपले गर्दा उनी आफ्नो पुरै परिवारको सहारा बन्दै आएका छन् ।

आज यस्तो अवस्थामा आइएला भन्ने न उनलाई लागेको न उनका परिवारलाई नै । झन् डाक्टरले नै अव उहाँको उपचार सम्भव छैन भनेपछि उनकी श्रीमतीकाे होस हवास नै उडेको थियो ।

पदमको बारेमा बुझ्न उनी बस्दै आएको घरमा पुगियाे । बेलबारी बजारको मुटुमै भए पनि उनको घर जानेको बाटो भने बन्न सकेको रहेनछ । हामी उनको घरमा पुग्दा उनी काममै व्यस्त थिए । उनी त्यतिखेर रोटीमेकर मिसिनको फिनिसिङको कार्यमा व्यस्थ थिए । उनको कामलाई हेर्दा उनी अपाङ्ग छन्, ह्वीलचेयरको साहाराले उनी जीवन जिउदै छन् भन्दा पत्याउनै कठिन हुन्थ्यो । हामीलाई पनि सुरुमा त त्यस्तै लाग्यो ।

उनले नजानेको काम भने केही पनि रहेनछ । सिलाई वुनाईदेखि लिएर फर्निचरका सामग्री सबै बवाउन र मर्मत पनि गर्न सक्दा रहेछन् । यति सम्म कि उनी आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्वील चेयर लगायतका सहायक सामग्रीहरुको पनि मर्मत गर्दा रहेछन् ।

केहीबेर कुरा गरेपछि उनी पुुनः आफ्नै काममा लागे । रोटिमेकर मिसिन बनाउदै गरेका श्रेष्ठसँग हामीले उनको दुर्घटनाको वारेमा जिज्ञासा राख्यौँ । वि.स. २०६२ सालमा उनी अहिले बस्दै आएको घर बनाउने सिलसिलामा दुर्घटनामा परेका रहेछन् । यही दुर्घटनाबाट उनी अपायच बन्नपुगे छन् । उक्त दुर्घटनामा उनको मेरुदण्डामा चोट लागेको र पछि मेरुदण्डले काम नै नगर्दा आफूले यस्तो जीवन जिउनु परेको दुखेसो पोखे । दुर्घटनामा परेको तीनवर्ष सम्म त उनलाई सुतेको स्थानबाट फर्किनसम्म पनि साथीको सहायता लिनु परेको बताए । सोक्रममा आफ्नी धर्मपत्नी सम्झनाको ठूलो योगदान रहेको उनी बताउँछन् । उनी आफ्नी श्रीमतीलाई भगवानको सज्ञा दिन पनि पछि पर्दैनन् । उनी भन्छन् –सम्झना नभएको भए म आज यो अवस्थामै आउने नै थिइन होला । मेरा लागि उनी श्रीमती मात्र नभएर भगवना नै हुन् ।

पदमका दुईवटा सन्तानमा छोरीको बिबाह भैसकेको र छोरा भने अविवाहित नै रहेछन् । कमजोर आर्थिक अवस्था र आफूलाई उपचार गर्दा गर्दै छोराछोरीले पढ्न नसकेको उनको गुनासो रहेको छ । कमजोर आर्थिक अवस्था र सन्तानलाई पढाउन नपाएकोमा गुनासो गर्छन पदम ।

हुन त भवितव्यसँग कसको के लाग्छ र ? नियतिलाई कसले बदल्न सक्छ र ? उनको जीवनमा पनि यस्तै भवितव्य आइदियो । उनकी श्रीमतीले पनि यही नियतिलाई स्वीकार गरेकी रहिछिन् । नियतिसँग सम्झौता गरेर नै आफू श्रीमानकै चाकरमा लागिरहेको र भविष्यमा पनि लागिरहने बताउँछिन् । तर उनलाई अहिले आफ्ना श्रीमान अपाङ्ग भएको जस्तो लाग्दैन । उनी भन्छिन् –उहाँकै कमाइले पुरै परिवार चलेको छ । म कसरी उहाँलाई अपाङ्ग मानौँ ।” उनले हामीसँग यसो भनिन् ।

तर उनलाई श्रीमानले तयार पारेका सामानहरुले बजार नपाएकोमा भने ठूलो गुनासो रहेको रहेछ । कसैले बजार व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने उनको एउटै मात्र ध्येय रहेछ ।

पदमले हामी गएको केही बेरमा एक एक गर्दै आफूले बनाएका सामग्रीहरु निकाले । र केही आफ्नी धर्मपत्नीलाई ल्याउन आग्रह गरे । उनले तयार गरेर राखेका रोटीमेकर, विभिन्न साइजका ऐनाहरु, हातेपङ्खा, लगायत घरायसी सामग्रीहरुले उनको घर अघिको भाग (सिकिवा) पदर्शनी स्थलजस्तै बन्न पुग्यो । हामीले त्यो दृश्यलाई पटक पटक क्यामरामा कैद गर्यौँ । उनको मिहिनेत र उत्साहलाई पनि ।
त्यसो त उनले आफूले तयार पारेका सामग्रीहरुलाई फेसवुकमा हाल्ने गरेका रहेछन् । त्यही फेसवुकमा देखेर कसैकसैले सामग्री खरिद गरेर लग्नेगरेको भए पनि त्यो प्रयाप्त नरहेको उनले हामीलाई बताए । उनले गर्वसाथ भने – कसैको अघि हात पसार्न चाहदिन । मलाई कसैले केही देवोसजस्तो पनि लाग्दैन र त्यो कहिल्यै महसुस पनि गरिन । यी मेरा सामग्री मात्र विक्री गर्ने व्यवस्था गरिदिए मात्र पुग्छ ।’

त्यसो त पदमले कहीकतैबाट यस्ता सामग्री बनाउने तालिम भने लिएका रहेनछन् । उनी आफैले युट्युवबाट हेरेर नयाँ नयाँ सामग्रीहरु बनाउन सिकेको बताउँछन् ।

अपाङ्ग भएर पनि यति धेरै सीप हुनु भनेको चानचुने कुरा होइन । यस्ता व्यक्ति र उनीहरुसँग भएको सीपलाई प्रवर्धन गर्ने काम भनेको राज्यको भएकोले स्थानीय सरकारको ध्यान जानु पर्ने कलाकार समेत रहेका स्थानीय गोपाल नेपालको मत रहेको छ ।

उनले अपाङ्गता व्यक्तिहरुको समूहमा पनि आवद्धता जनाउँदै आएका रहेछन् । फुर्सदको समयमा आफूजस्तै अपाङ्गता भएका मानिसहरुका लागि काम गर्दा रहेछन् ।

“पदम दाई इमान्दार र मेहेनती हुनुहुन्छ । दाइको यही गुणहरुले उहाँलाई अरुभन्दा फरक बनाएको छ । उहाँको सीपको उतिच मूल्याङ्कन होस् भन्नेमा आफू पनि लागि परेको अपाङ्गता भएका व्यक्तिहरुको संस्था बेलबारीका सचिव दिनेश प्रसाईं सचिव बताउँछन् ।

जनताले टाढाको सरकारबाट सेवा पाएनन् भनेर नै देशमा सङ्घिताको अवधारण आएको हो । जनताको सबभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । तसर्थ आफ्नो क्षेत्रमा रहेका यस्ता प्रतिभालाई जोगाउनु स्थानीय सरकारको काम हो । पदम र पदमजस्ता अरु अपाङ्गता भएका व्यक्तिको सीपको मूल्याङ्कन हुनु जरुरी छ । यस्ता व्यक्तिहरुले खुन पसिना गरेर उत्पादन गरेका सामग्रीहरुले बजार नपाउनु भनेको कति लाजमर्दो कुरो हो । जनताले खै, सरकार कहाँ छ भनेर प्रश्न गर्ने दिन नआओस् ।

1,173 total views, 3 views today