वातावरणीय मुद्दा, नवीकरणीय अनि दिगो उर्जा र उर्जा सुरक्षा

श्याम गोयन्का

  • १ श्रावण २०७६, बुधबार

प्रिय मित्र,
नमस्कार ।
सबैभन्दा पहिला राष्ट्र निर्माणमा यहाँको सत्प्रयासले सफलता पाइरहोस् भन्ने कामना गर्दछु ।
म यहाँसँग वातावरणीय मुद्दा, नवीकरणीय र दिगो उर्जा तथा उर्जा सुरक्षाबारे मेरो केही विचार साट्न चाहन्छु । यी विषयमा आवश्यक नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न अत्यन्त ढिलाई भइरहेछ भन्ने लागेकाले मैले यसमा चासो राखेको हुँ ।
नेपालमा संस्थागत प्रेसका लागि कार्य गर्दा हाम्रो सहकार्य भएकाले तपाईंहरुको म प्रतिको सद्भावको सम्मान गर्दै मैले सहजताका साथ देशको विकासका लागि थाल्नैपर्ने केही कदमबारे चर्चा गर्न खोजेको छु । म विकासबारेको आधिकारिक मानिस त होइन तर यस विषयमा एक विद्यार्थीका रुपमा आधारभुत ज्ञान भने अवश्य राख्छु । र गलत बाटोमा गईरहेका विभिन्न क्षेत्रलाई सुधार्न अथकरुपमा प्रयासरत छु ।
सञ्चारजगतमा मेरो यात्रा शुरु गर्नुभन्दा केही वर्ष पहिला मैले वातावरणको क्षेत्रमा योगदान गर्ने मनसाय बनाएको थिएँ । मेरो त्यो प्रयत्नको सुरुवात वृक्षारोपणबाट भएको थियो । त्यतिबेला मैले सिसौका एक लाख ५० हजार बिरुवा र अन्य ससाना बिरुवा रोपेको थिएँ । यससँगै हामीले हाम्रो गाउँ र आसपासका किसानलाई निःशुल्क बिरुवा दिने उद्धेश्यले एउटा नर्सरी पनि बनाएका थियौं ।
किसानहरुमा ठूलो मात्रामा वृक्षारोपण गर्नुपर्छ भन्ने भावना जगाउन हामीले त्यो प्रयास गरेका थियौं र त्यो धेरै हदसम्म सफल पनि भयो ।
त्यसयता म विकाससम्बन्धी क्षेत्रहरुमा अध्ययनरत छु । र वातावरण तथा उर्जा सुरक्षामा प्रशस्त अनुसन्धान पनि गरेको छु । बाढीले सखाप पारेका खेतीयोग्य जमिनलाई पुनः उपयोगी बनाएर किसानलाई सहयोग गर्ने र उनीहरुको पुनःस्थापनामा मद्दत गर्ने मेरो उद्धेश्य हो । कस्तो वैज्ञानिक पद्दतिले जमिनलाई पुनः उपयोगी बनाउँछ र बाढी तथा भुक्षयबाट जोगाउँछ भन्नेमा मेरो बढी चासो छ । किसानहरुलाई उनीहरुको जमिनको उर्वरता बढाउने र त्यसबाट जतिसक्दो लाभ दिलाउने आवश्यकताले मलाई अनुसन्धानमा लागिरहन प्रेरणा दिएको छ । यही सिलसिलामा दर्जनभन्दा बढी पटक इजरायलको भ्रमण पनि गरेँ । भ्रमणको सिलसिलामा मैले किबुजजस्तो ओएसिसमा गरिएको खेतीको अध्ययन गर्ने मौका पाएँ ।
अहिलेसम्म बाझै रहेका जमिनलाई जैविक इन्धन (बायो युल) र कृषिवन (एग्रोफरेस्ट्री) को रुपमा विकास गर्न किसानहरुलाई उत्साहित गराउने र आफै पनि सहभागी हुने योजना मसँग छ ।
अहिले पनि लाखौं हेक्टर जमिन बाँझै खेर गइरहेको छ । यो जमिनको सदुपयोग गर्न सकियो भने जलविद्युत र अन्य नविकरणीय उर्जासँगै मिसाएर उर्जा स्रोतको रुपमा विकास गर्न सकिन्छ । त्यसो गर्न सकियो भने जिवाष्म इन्धन र दाउराको प्रयोग पनि घट्नेछ ।
म के कुरामा विश्वस्त छु भने यसले केवल हाम्रो उर्जा सुरक्षा मात्र सुनिश्चित गर्नेछैन बरु गरिबी घटाउनेछ, किसानहरुको जीवनस्तर उकास्नेछ, अहिले न्युन आय सिर्जना गर्ने कृषिकर्मले बढी आय दिनेछ, ठूलो संख्यामा हरित रोजगारी सिर्जना गर्नेछ र वातावरणीय सन्तुलन कायम गर्ने छ । हामीले समयमै सही सुरुवात गर्ने हो भने दिगो र समावेशी विकास धेरै पर छैन ।
अहिले यिनै उद्धेश्य समेटिएका सयौं कार्यक्रमहरु छन् जसका लागि अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले करोडौं अमेरिकी डलरको सहयोग गरेका छन् । तर, सतहमा देखिनुपर्ने जति प्रगति भने देख्न पाइएको छैन । हामीले देख्ने दृश्य भनेको त स्थानीय सरकारका पदाधिकारीको करोडौं पर्ने गाडी, प्रशासनिक काममा अत्याधिक खर्च, महंगो शुल्क तिरेर बनाइएका प्रतिवेदनहरु, पाँच तारे होटलमा हुने बैठक र तथ्यांकहरुको खेल । यत्ति न हो !
यो क्षेत्रमा केही सपना देखेको हुनाले मलाई थाहा छ साँचो परिवर्तनका लागि आज गरिएको खर्चको केही अंश भए पर्याप्त हुन्छ । त्यसैले म साँचो विकास चाहनेहरुसँग यो विषयमा कुराकानी गर्न आतुर छु ।
मेरो लागि यो अन्तज्र्ञान जस्तै हो जुन मिडिया यात्रामा निस्कनुअघि जागृत भएको थियो । त्यसैले म यस्तो विकासबारे ईच्छुकहरुलाई राष्ट्र निर्माणका लागि काँधमा काँध मिलाउन अनुरोध गर्छु ।
यो निकै नै चुनौतीपूर्ण विषय हो जसलाई तुरुन्तै सम्बोधन गर्न जरुरी छ । हामीले हाम्रो जीवनलाई प्रभाव पार्ने सबै क्षेत्रमा काम गर्नुपर्ने छ । हामीले मानवीय चरित्र र सामाजिक न्याय सहितको विकास प्रक्रियाको परिकल्पना गरेका छौ ।
यस्तो विकास पद्दतिबारे केही चर्चा गरौं ।
सुन्दा राम्रो नलागे पनि उर्जा क्षेत्रमा हामी निकै नै पराधिन अवस्थामा छौं । जतिसुकै प्रशंसा गरिए पनि जलविद्युतले हाम्रो राष्ट्रिय जीवनमा निकै कम मात्र हिस्सा ओगट्छ (त्यो दाउराको विनाशकारी प्रयोगको १० प्रतिशत पनि छैन) । हामी गलत स्रोतहरुमा निर्भर छौं । अहिले पनि हाम्रो उर्जाको प्रमुख स्रोत दाउरा नै हो जसले वनविनाश मात्रै गर्छ । दाउरापछि हामी जिवाष्म इन्धनमा निर्भर छौं । थाहा पाउँदा अपत्यारिलो लागे पनि सत्य यो हो, नेपालमा वर्षेनी १ करोड ७० लाख टन दाउरा खपत हुन्छ जसले आठ हजार भन्दा बढी महिलाको ज्यान लिइरहेको छ भने दाउरा खपतको मुल्य हिसाब गर्दा नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई हुन आउँछ । (यसबारेको विस्तृत विवरण यहाँ समावेश गरिएका लेखमा उल्लेख छ ।)
वातावरणलाई जोगाउने र जलवायु परिवर्तनको प्रकोपसँग जुध्ने हो भने हामीले सक्दो छिटो यो दाउरा खपतलाई नवीरकणीय र हरित उर्जाले विस्थापन गर्नुपर्छ ।

यसका लागि हामीलाई आर्थिक लाभभन्दा परसम्म सोच्न सक्ने उत्प्रेरक उद्यमीहरुको खाँचो पर्छ । अवश्य पनि नवीकरणीय उर्जा क्षेत्रले अन्य लगानी क्षेत्रले जस्तो नाफा दिँदैन त्यसैले धेरै उद्यमीले यसमा रुची देखाउँदैनन् । त्यसमाथि कर छलीका अनेक प्रकरण भोगेको र राष्ट्रिय जिम्मेवारीबाट च्युत हुँदै गएको समाजमा देशको समग्र विकास र जनताको सामाजिक र आर्थिक मुक्तिको परिकल्पना गर्ने उद्यमी फेलापार्न झनै मुश्किल हुन्छ । खासमा यी उद्यमी सामाजिक उद्यमीहरु हुन् जसले सिंगो समाजमा आर्थिक लाभको लालच नराखी देशको निम्ति जिम्मेवार हुन उत्साह जगाउँछन् ।
नवीकरणीय उर्जा अहिले देशको उच्च प्राथमिकतामध्येको एक हो । यो क्षेत्रमा क्रान्ति ल्याउन भने हामीलाई ठूलो संख्यामा सामाजिक उद्यमीहरु चाहिन्छ । वास्तवमा दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये धेरैजसो नवीकरणीय उर्जासँग सम्बन्धित छन् । यसले पनि नवीकरणीय उर्जाको महत्व उजागर गर्छ ।
यिनै विषयमा ध्यान दिँदै मैले नेपालमा उर्जा खपतको अवस्था र नवीकरणीय उर्जाको नयाँ सम्भावनाबारे केही सामग्री यहाँलाई पठाएको छु । यहाँ मैले निम्न सामग्री समावेश गरेको छुः
१. प्रेस विज्ञप्ति
२. प्रेस विज्ञप्तिलाई सन्दर्भ हुने गरी एउटा लेख
३. नवीकरणीय उर्जामा थालिएका नयाँ कदम जनाउने केही तस्विर
दिगो, समावेशी र मानवीय विकासका अन्य आयामबारे म फेरि पनि चर्चा गरिरहनेछु ।

तपाईंको
श्याम गोयन्का

54 total views, 3 views today